झापा,१५ फागुन । झापामा चैते धान रोपाइँ औपचारिक रूपमा सुरु भएको छ। कचनकवल गाउँपालिका क्षेत्रबाट यस वर्षको रोपाइँ अभियान प्रारम्भ भएको जानकारी कृषि ज्ञान केन्द्रले दिएको छ। अनुकूल मौसम र सिँचाइ सुविधाका कारण किसानहरू यतिबेला खेत तयारी र बिरुवा सार्ने काममा व्यस्त छन्।
कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टका अनुसार चैत महिनाको दोस्रो सातासम्म जिल्लाका अधिकांश क्षेत्रमा रोपाइँ सम्पन्न हुने अपेक्षा गरिएको छ। परम्परागत विधिभन्दा यान्त्रिक उपकरणको प्रयोग बढ्दै जाँदा रोपाइँको गति तीव्र बनेको उहाँको भनाइ छ। जिल्लामा हाल १० वटा धान रोप्ने मेसिन (ट्रान्सप्लान्टर) सञ्चालनमा रहेका छन्। केही स्थानमा रोपाइँ सुरु भइसकेको छ भने अन्यत्र बीउ राख्ने र नर्सरी व्यवस्थापनको काम भइरहेको छ।
गत वर्ष करिब २० हजार हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिएको तथ्यांक रहेको भए पनि यस वर्ष क्षेत्रफल घट्ने संकेत देखिएको छ। प्रमुख विष्टका अनुसार मकै खेतीतर्फ किसानहरूको आकर्षण बढेकाले धानको क्षेत्रफल १५ देखि २० प्रतिशतसम्म घट्न सक्ने आँकलन गरिएको छ।
बजार मूल्यले पनि किसानको मनोबलमा प्रभाव पारेको देखिन्छ। गत वर्ष चैते धानको मूल्य प्रतिमन (४० केजी) ७०० रुपैयाँ मात्र कायम हुँदा अपेक्षित लाभ लिन नसकेको गुनासो किसानहरूले गरेका थिए। सोही कारण धेरै किसान वैकल्पिक बालीतर्फ मोडिएको केन्द्रको निष्कर्ष छ। धानको बीउ आपूर्ति गर्ने कम्पनीहरूले समेत यस वर्ष बीउ बिक्री लक्ष्यअनुसार हुन नसकेको बताएका छन्।
जिल्लामा प्रायः ‘हर्दिनाथ–१’ जातको धान रोप्ने चलन रहे पनि यस वर्ष ‘हर्दिनाथ–६’ तर्फ आकर्षण बढेको छ। मोरङस्थित एक राइस मिलसँग ‘हर्दिनाथ–६’ प्रतिमन एक हजार रुपैयाँमा खरिद गर्ने पूर्वसहमति भएपछि किसानले उक्त जात रोज्न थालेका हुन्। तुलनात्मक रूपमा राम्रो मूल्य र बिक्री सुनिश्चितताले किसानमा उत्साह थपिएको भए पनि अधिकांशले अझै ‘हर्दिनाथ–१’ लाई प्राथमिकतामा राखेको कृषि ज्ञान केन्द्रले जनाएको छ।
यसैबीच, केन्द्रले ‘छरुवा धान’ प्रविधि विस्तारलाई पनि निरन्तरता दिएको छ। नयाँ स्थान पहिचान गरी किसानलाई प्रविधि अपनाउन प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन भइरहेको छ भने अघिल्ला वर्षदेखि प्रयोग गर्दै आएका किसानले यसलाई विस्तार गरिरहेका छन्। यद्यपि, प्राविधिक व्यवस्थापनमा कमजोरी हुँदा झार नियन्त्रणमा समस्या देखिने गरेको बताइएको छ।
धानखेतीका लागि आवश्यक रासायिक मल आपूर्तिमा भने हालसम्म कुनै अभाव नरहेको कृषि ज्ञान केन्द्रले स्पष्ट पारेको छ। समयमै रोपाइँ सम्पन्न भई उत्पादन वृद्धि हुने अपेक्षासहित किसानहरू यतिबेला खेतमै केन्द्रित छन्।



